सगरमाथा क्षेत्रमा हिउँको ढिस्को भासिँदा दुई जना घाइते


काठमाडौं-  सगरमाथा आरोहणका क्रममा हिउँको ढिस्को भासिँदा एक आरोही र एक गाइड घाइते भएका छन्।

मंगलबार बिहान करिब ५ः४५ बजेतिर हिउँको ढिस्को भासिएर आरोहीहरू हिँड्ने मार्गसम्म आइपुगेको पर्यटन विभागले जनाएको छ।

घटनामा एक शेर्पा गाइड र भारतीय नागरिक आरोही घाइते भएका छन्। घाइते हुनेमा संखुवासभाका ४४ वर्षीय पेम्बा टेन्डुक शेर्पा र ४० वर्षीय भारतीय नागरिक निमीषकुमार सिंह रहेका छन्।

घटना भएलगत्तै पायोनियर एडभेन्चर प्रालि र समिट फोर्स एक्स्पिडिसनका शेर्पा गाइडहरूको टोलीले तत्काल उद्धार गरी आधार शिविरमा जानकारी गराएको थियो। त्यसपछि बिहान ६ः३० बजे लुक्लाबाट गएको हेलिकोप्टरले उनीहरूलाई घटनास्थलबाट उद्धार गरेको विभागले जनाएको छ।

घाइते दुवैजनालाई उपचारका लागि काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ। उनीहरूको अवस्था खतरामुक्त रहेको पर्यटन विभागले जनाएको छ।

प्रतिक्रिया