पशुपति गौशाला धर्मशालाको जग्गा कोषको स्वामित्वमा, उच्च अदालतको फैसला सदर


काठमाडौं-  काठमाडौंको गौशालामा रहेको पशुपति गौशाला धर्मशालाको जग्गा अन्ततः पशुपति क्षेत्र विकास कोषको पूर्ण स्वामित्वमा आएको छ।

काठमाडौं जिल्ला अदालतको फैसलालाई उच्च अदालत पाटनले सदर गरेसँगै करिब २५ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको उक्त धर्मशालाको जग्गा खाली गर्नुपर्ने कानुनी बाटो खुलेको हो।

उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्गबहादुर केसी र रमेशप्रसाद ज्ञवालीको इजलासले सोमबार सो फैसला सुनाएको हो।

यसअघि जिल्ला अदालत काठमाडौंले साविक पशुपति पञ्चायत वडा नं. २ को कित्ता नं. ८३ र ८५ मा रहेको कुल ९ रोपनी ९ आना २ पैसा जग्गामा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने ठहर गरेको थियो।

उच्च अदालतको निर्णयसँगै जिल्ला अदालतका तत्कालीन न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले २०८१ असोज १६ गते गरेको फैसला पनि अन्तिम रूपमा कायम भएको छ।

फैसलामा स्पष्ट रूपमा भनिएको छ कि ‘पशुपति गौशाला धर्मशाला’ नामक कुनै स्वतन्त्र संस्था ऐतिहासिक रूपमा अस्तित्वमा रहेको प्रमाणित नभएको देखिन्छ।

समितिले २०६० सालमा पशुपति अमालकोट कचहरीसँग गरेको सम्झौतामार्फत नै उक्त जग्गा पशुपतिनाथको स्वामित्वमा रहेको स्वीकार गरिसकेको भन्दै अहिले मोहियानी हक दाबी गर्नु कानुनी रूपमा आधारहीन भएको अदालतको ठहर छ।

प्रतिक्रिया