
रोशीखोलाबाट ८९ यात्रुको मध्यरातमा उद्धार, यात्रुको ज्यान जोखिममा राखि माइक्राे चलाउने ५ चालक पक्राउ
काठमाडौं – अविरल वर्षाका कारण रोशी खोलाको बहाव बढ्दा खोलाको बीच भागमा फसेका ८९ जना यात्रुहरूलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आइतबार साँझदेखि परेको निरन्तर वर्षाले रोशी खोलामा पानीको बहाव उच्च भएपछि पाँचवटा माइक्रोबस बीच खोलामा अड्किएका थिए।
ती सवारीमा सवार ८९ जना यात्रुहरूलाई नेपाली सेना तथा अन्य सुरक्षा निकायको संयुक्त टोलीले मंगलबार राति करिब १ बजे उद्धार गरी सुरक्षित रूपमा गन्तव्यतर्फ पठाएको हो।
उद्धार कार्यपछि प्रहरीले लापरवाहीपूर्वक सवारी सञ्चालन गरी यात्रुको ज्यान र सम्पत्तिमा जोखिम सिर्जना गरेको आरोपमा पाँचवटै माइक्रोबसका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



कागजपत्र |
