
यी हुन् मन्त्रिपरिषद्ले गरेका निर्णय
काठमाडौं- सरकारले राष्ट्रपति रामचन्द्र पौडेलबाट पुनर्विचारका लागि फिर्ता भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश पुनः जारी गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। उनले भने “संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएकोमा जारी गर्न पुनः सिफारिस गर्ने निर्णय भएको छ।”
त्यस्तै, मन्त्रिपरिषद् बैठकले वायु प्रदूषण नियन्त्रण तथा ऊर्जा दक्षता सुधारसँग सम्बन्धित दुई महत्वपूर्ण आर्थिक सहयोग पनि स्वीकार गर्ने निर्णय गरेको छ। सरकारका अनुसार परम्परागत कोइलरलाई इलेक्ट्रोनिक कोइलरले प्रतिस्थापन गर्ने उद्योगहरूलाई कर्जा उपलब्ध गराउन तथा वायु गुणस्तर मापन क्षमता विस्तार गर्न विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियत ऋण र ५ मिलियन डलर अनुदान सहायता स्वीकार गरिने भएको छ।
यसैगरी, बैठकले भारतसँग जी–टु–जी (सरकार–सरकार) माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई स्वीकृति दिने निर्णय पनि गरेको छ।
त्यसैगरी, सिंहदरबार परिसरको गुरुयोजना पनि स्वीकृत गरिएको छ। गुरुयोजनामा संसद् भवन परिसरमा प्रवेश तथा समग्र प्रशासनिक व्यवस्थापन सुधारका विषयहरू समेटिएका छन्।



कागजपत्र |
