
नदी किनारका बस्ती हटाउने क्रममा छुटेकालाई सम्पर्कमा आउन मन्त्रालयको अपिल
काठमाडौं- काठमाडौंमा नदी किनारका जोखिमयुक्त बस्तीहरू स्थानान्तरण गर्ने क्रममा छुटेका नागरिकलाई शहरी विकास मन्त्रालयले सम्पर्कमा आउन आग्रह गरेको छ। आइतबार जारी विज्ञप्तिमा मन्त्रालयले सहायता आवश्यक भएका तथा हाल खुला सडक वा अन्यत्र अलमलमा परेका नागरिकलाई तोकिएको प्राथमिक दर्ता केन्द्र दशरथ रंगशालामा उपस्थित भई नाम दर्ता गराउन अनुरोध गरेको हो।
मन्त्रालयका अनुसार सरकारले वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन गर्दै ‘होल्डिङ सेन्टर’मार्फत व्यवस्थापन गर्ने तयारी गरेको छ। ती केन्द्रहरूमा आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा र मनोसामाजिक परामर्शजस्ता आधारभूत सेवा उपलब्ध गराइने जनाइएको छ।
विशेषगरी आर्थिक अवस्था कमजोर भई स्वव्यवस्थापन गर्न नसक्ने र वास्तविक भूमिहीन नागरिकलाई लक्षित गर्दै मन्त्रालयले दर्ता प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ।
सरकारले सुरक्षित, व्यवस्थित र दीर्घकालीन पुनर्स्थापनाको लक्ष्यसहित आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको पनि विज्ञप्तिमा उल्लेख छ।



कागजपत्र |
