त्रिपुरेश्वर–टेकु क्षेत्रका सुकुमवासीले आफैं सामान हटाउन थाले


काठमाडौं- त्रिपुरेश्वर–टेकुको बागमती करिडोर  क्षेत्रमा बसोबास गर्दै आएका सुकुमवासीहरूले आफ्नो सामान हटाउन सुरु गरेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले नदी किनाराका बस्तीहरू एकैपटक खाली गराउने सूचना जारी गरेसँगै बस्तीवासीहरूले सोमबार बिहानदेखि स्वेच्छिक रूपमा सामान सार्न थालेका हुन्।

प्रशासनले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार १८ वैशाख बिहान ७ बजेदेखि काठमाडौं नदी किनाराका सबै सुकुमवासी बस्ती खाली गराइनेछ। त्यसपछि प्रभावित क्षेत्रका बासिन्दाहरूले सम्भावित हटाइने प्रक्रियालाई मध्यनजर गर्दै आफैं सामान हटाउन थालेका हुन्।

जिल्ला प्रशासन कार्यालयले काठमाडौंका विभिन्न स्थानीय तहभित्र पर्ने नदी किनाराका बस्ती, सरकारी, पर्ति, सार्वजनिक तथा निजी जग्गासमेत अतिक्रमण गरी वर्षौंदेखि बसेका अनधिकृत बस्तीहरूलाई मानवीय उद्धार र विपद् जोखिम न्यूनीकरणका कारण खाली गराइने जनाएको छ।

यसअघि थापाथली, गैरीगाउँ, सिनामंगल र मनोहरा क्षेत्रका सुकुमवासी बस्तीहरू पनि हटाइसकिएको प्रशासनले जनाएको छ।

प्रतिक्रिया