बाजुरामा हावाहुरी, चट्याङ र पहिरोले विभिन्न ठाउँमा क्षति


बाजुरा- बाजुरामा हावाहुरी, चट्याङ र पहिरोका कारण विभिन्न स्थानमा व्यापक क्षति भएको छ। हिजो साँझ परेको वर्षासँगै आएको तीव्र हावाहुरी र चट्याङले जिल्लाका विभिन्न बस्ती प्रभावित बनेका हुन्।

जिल्लाको जगन्नाथ गाउँपालिका–२, माथिल्लो हुनीमा अविरल वर्षापछि गएको पहिरोले स्थानीय किसानका पशुचौपायामा ठूलो क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीका अनुसार चैनबहादुर विष्टका ५४ वटा बाख्रामध्ये २ वटा मृत अवस्थामा फेला परेका छन् भने ९ वटा अझै बेपत्ता छन्।

त्यसैगरी, अमृत ल्वारका ५६ वटा बाख्रामध्ये ३ वटा पहिरोमा पुरिएर मरेका छन् भने १४ वटा हराइरहेका छन्। राजबहादुर विष्टका ४० वटा भेंडामध्ये ५ वटा मृत फेला परेका छन् र १० वटा बेपत्ता छन्। ऐनबहादुर विष्टका ९५ वटा भेंडामध्ये ३ वटा मरेका र ५ वटा हराइरहेको प्रहरीले जनाएको छ।

उता, त्रिवेणी नगरपालिका–९, खोयामा चट्याङ पर्दा कुलबहादुर साउँदको बाख्रा गोठमा क्षति पुगेको छ। चट्याङ लाग्दा गोठभित्र रहेका ३ वटा बाख्रा मरेका छन्।

यस्तै, खप्तड छेडेदह गाउँपालिका–१, काट्या तलगाउँका बिरे रावलको काठ र जस्तापाताले बनेको पसल हावाहुरीले उडाएको छ। पसलमा रहेका जुत्ता, चप्पल, कपडा तथा सिलाइ मेसिनमा क्षति पुगेको छ। यद्यपि, मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रतिक्रिया