
मेलम्ची खानेपानी आयोजनालाई दिगो र सुरक्षित बनाउन सरकार गम्भीरः मन्त्री मेहता
काठमाडौं – खानेपानीमन्त्री निशा मेहताले मेलम्ची खानेपानी आयोजनालाई दिगो र सुरक्षित बनाउन सरकारले काम गरिरहेको बताएकी छिन्।
मंगलवार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा उनले मेलम्ची परियोजनालाई दीगो र सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताइन्।
मेलम्ची परियोजना काठमाडौँ उपत्यकावासीको स्वच्छ खानेपानी पिउने आशाको केन्द्र भएको उल्लेख गर्दै उनले यसमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताइन्।
मेलम्ची खानेपानी आयोजना अझै पनि विभिन्न समस्या र चुनौतीले घेरिएको अवस्थामा रहेको उनको भनाइ छ। मेलम्चीलाई दिगो र सुरक्षित बनाउने विषयमा मन्त्रालयमा पटकपटक छलफल भइरहेको उनले बताइन्।
यद्यपि ठोस निष्कर्षमा पुग्न भने बाँकी नै रहेको उनको भनाइ छ। परियोजनालाई दीर्घकालीन रूपमा सञ्चालनयोग्य तथा जोखिममुक्त बनाउने उल्लेख गरिन्।
उनले सरकारको पहिलो प्राथमिकतामा अलपत्र परेका खानेपानी योजनाहरू रहेको पनि जानकारी दिइन्। अलपत्र परेका योजनाहरूको समस्या पहिचान गरी समाधान खोज्ने उनको भनाइ छ।



कागजपत्र |
