
त्रिवि क्रिकेट मैदान खाली गर्न ३५ दिने अल्टिमेटम
काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो स्वामित्वमा रहेको अतिक्रमित जग्गा खाली गराउन नेपाल क्रिकेट संघ (क्यान)सहित १८ संस्था र संगठनलाई ३५ दिने अल्टिमेटम दिएको छ। त्रिविले गत वैशाख ४ गते सूचना जारी गर्दै सम्बन्धित निकायहरूलाई तोकिएको समयभित्र जग्गा खाली गर्न निर्देशन दिएको हो।
त्रिविका एक अधिकारीका अनुसार अतिक्रमित जग्गा फिर्ता ल्याउने निर्णयअनुसार पत्राचार गरिएको हो। “१८ वटा संघ, संस्था र संगठनलाई ३५ दिनभित्र जग्गा खाली गर्न भनिएको छ। क्यानसँगको सम्झौता यही वैशाख मसान्तबाट सकिँदैछ,” उनले भने।
महेन्द्रकुमार थापाको संयोजकत्वमा गठित खोजबिन समितिले कीर्तिपुर परिसरभित्र र बाहिरका विभिन्न स्थानमा त्रिविको जग्गा अतिक्रमण भएको तथा उठ्नुपर्ने भाडासमेत असुल नभएको फेला पारेको थियो। प्रतिवेदनअनुसार लेबोरेटरी माध्यमिक विद्यालय, नेपाल क्रिकेट संघ (क्यान), खानेपानी बोर्डलगायत संस्थाहरूले त्रिविको जग्गा प्रयोग गरिरहेका छन्।
त्यस्तै नेपाल प्राध्यापक संघ, नेपाल विश्वविद्यालय प्राध्यापक संघ, कीर्तिपुर नगरपालिका, सार्वजनिक शौचालय तथा बसपार्कहरू पनि त्रिविको जग्गामै सञ्चालनमा रहेको उल्लेख गरिएको छ। केही संस्थाले आवश्यक स्वीकृति नै नलिई संरचना निर्माण गरेको समितिको निष्कर्ष छ।
त्रिवि रजिस्ट्रार कार्यालयअन्तर्गत सामान्य प्रशासन महाशाखाले क्यानसहित सबै सम्बन्धित निकायलाई औपचारिक पत्र पठाएको छ। क्यानका प्रवक्ता छुम्बी लामाले पत्र प्राप्त भएको पुष्टि गर्दै यसबारे थप अध्ययन गर्ने बताएका छन्।
समितिको विश्लेषणमा त्रिविका पदाधिकारीहरू फेरिँदै जाँदा सम्पत्तिको संरक्षणमा कमजोरी देखिएको र त्यसैको परिणामस्वरूप अतिक्रमण बढेको उल्लेख छ। केही अवस्थामा भूमाफिया र राजनीतिक संरक्षणका कारण विश्वविद्यालयको जग्गा दुरुपयोग भएको आशंकासमेत प्रतिवेदनमा गरिएको छ।
२०८१ सालको प्रतिवेदनअनुसार कीर्तिपुर क्षेत्रमा मात्रै करिब १ हजार रोपनी जग्गा अतिक्रमणमा परेको देखाइएको छ।



कागजपत्र |
