
हालसम्म २१४ जना सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
काठमाडौं- काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा खाली गर्ने अभियान आज पनि निरन्तर जारी छ। सरकारले शनिबार बाँकी रहेका अवैध संरचना हटाउने र बस्ती खाली गर्ने कार्यलाई बिहानैदेखि तीव्र बनाएको हो।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बुद्धचोक र वडा नं. ९ मनोहरा टोलमा रहेका जोखिमपूर्ण बस्तीहरू खाली गर्ने काम अघि बढाइएको छ। सुरक्षाकर्मीको सहकार्यमा बस्तीभित्र रहेका स्थानीयवासीलाई आफ्ना सामान निकाल्न र सुरक्षित स्थानमा सार्न सहयोग गरिएको छ।
त्यसैगरी, शनिबार नै काठमाडौँ महानगरपालिका–९ गैरीगाउँ र वडा नं. ३१ शान्तिनगर क्षेत्रमा रहेका नदी किनार तथा सार्वजनिक एवं सरकारी जग्गामा बनेका संरचना हटाउने तयारी गरिएको छ।
यसअघि शुक्रबार थापाथली क्षेत्रमा रहेको बस्ती शान्तिपूर्ण रूपमा खाली गरिएको थियो। प्रधानमन्त्रीको सचिवालयका अनुसार हालसम्म २१४ परिवार सरकारको सम्पर्कमा आएका छन्। उनीहरूलाई अस्थायी रूपमा विभिन्न होटलमा बसोबास र खानपानको व्यवस्था मिलाइएको छ।
सरकारले नदी किनार र जोखिमपूर्ण क्षेत्रमा अवैध रूपमा बनेका संरचना हटाउने अभियानलाई निरन्तरता दिने जनाएको छ।



कागजपत्र |
