
सिरहामा मोटरसाइकलको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु
सिरहा- सिरहामा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालिकाको मृत्यु भएको छ। सिरहा–चोहर्वा सडक खण्डअन्तर्गत नरहा गाउँपालिका–३ खैरिया टोलमा बिहीबार भएको दुर्घटनामा स्थानीय मोहम्मद देलालकी ५ वर्षीया छोरी खजिजा खातुनको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सदरमुकाम सिरहाबाट मिर्चैयातर्फ जाँदै गरेको प्र.२–०१–००३ प ७६९६ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट पैदल आउँदै गरेकी बालिकालाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएकी खातुनलाई तत्काल उपचारका लागि गोलबजारस्थित बर्धमान अस्पताल लगिएको थियो। तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। मोटरसाइकल भने नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रमेश बहादुर पालले जानकारी दिए।
मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ।



कागजपत्र |
