
इन्जिनियर किशोरी यादव र पत्नीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कलैया बाराका तत्कालीन निमित्त कार्यालय प्रमुख तथा इन्जिनियर किशोरी प्रसाद यादव र उनकी पत्नी निर्मला कुमारीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा मुद्दा दायर गरेको छ।
आयोगले यादव दम्पतीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको हो।
आयोगका अनुसार यादवको २०४७ असार ३१ गतेदेखि २०८० पुस २९ गतेसम्मको अवधिलाई जाँच अवधि मानेर गरिएको अनुसन्धानमा उनको वैधानिक आम्दानीभन्दा बढी खर्च तथा लगानी गरेको देखिएको छ।
सो अवधिमा पारिश्रमिक, भत्ता, घरजग्गा बिक्री, ऋण, ब्याज, कृषि तथा परिवारका सदस्यहरूको आम्दानीसमेत गरी कुल ३ करोड ४६ लाख २१ हजार ४०१ रुपैयाँ ९ पैसा आम्दानी भएको देखिएको आयोगले जनाएको छ।
तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण, सेयर तथा सवारी साधन खरिद, अध्ययन खर्च, ऋण भुक्तानी, विद्युतीय सामग्री, आन्तरिक सजावट र बैंक मौज्दातसमेत गरी ४ करोड ९३ लाख २ हजार ६२६ रुपैयाँ ९९ पैसा खर्च भएको अनुसन्धानमा देखिएको छ।
यसरी कुल आम्दानीभन्दा १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ ९० पैसा बढी खर्च भएको देखिएकाले सो रकमको स्रोत नखुलेको निष्कर्ष आयोगले निकालेको छ।
अनुसन्धानका क्रममा सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको र उक्त सम्पत्ति पत्नीको नाममा समेत राखिएको पाइएको आयोगले जनाएको छ।
आयोगले सोही बराबरको बिगो कायम गर्दै यादव र उनकी पत्नीविरुद्ध सजायको मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।



कागजपत्र |
