आजदेखि त्रिभुवन विमानस्थल ६ घण्टा ४५ मिनेट बन्द हुने


काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक बन्द रहने समय बढाइएको छ। सोमबार (वैशाख ७)देखि आउँदो जेठ ४ गतेसम्म लागू हुने गरी थप १ घण्टा ४५ मिनेट विमानस्थल बन्द गरिने भएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त अवधिमा विमानस्थल राति ११ः४५ बजेदेखि भोलिपल्ट बिहान ६ः३० बजेसम्म बन्द रहनेछ। यसअघि भने विमानस्थल राति १ बजेदेखि बिहान ६ बजेसम्म मात्रै बन्द गरिने गरिएको थियो।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार रनवे विस्तारका लागि निर्माण कार्य तीव्र पार्न बन्द समय बढाइएको हो। “वैशाख ७ देखि २७ दिनसम्म दैनिक ६ घण्टा ४५ मिनेट विमानस्थल बन्द हुनेछ,” उनले भने।

दक्षिणतर्फको ट्याक्सी वे र ह्यांगर क्षेत्रमा निर्माण कार्य गर्नुपर्ने भएकाले अतिरिक्त समय आवश्यक परेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया