
झोलुङ्गे पुल बनाउन दुई बस श्रमदाता दार्चुला प्रस्थान
काठमाडाैं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सुरु गरेको झोलुङ्गे पुल निर्माण अभियानका लागि ८५ जना श्रमदाता दार्चुलातर्फ प्रस्थान गरेका छन् ।
धरानबाट ७५ जना र काठमाडौंबाट १० जना गरी कुल ८५ श्रमदाता शनिबार दार्चुलाका लागि हिँडेका हुन् । धनगढीबाट दुई वटा बसमार्फत उनीहरू दार्चुलातर्फ गएका र आइतबार त्यहाँ पुग्ने कार्यक्रम रहेको फिल्ड म्यानेजर ऋतुबर्तन राईले जानकारी दिए ।
धरानबाट गोपाल राईको संयोजकत्वमा ७५ जनाको टोली खटिएको हो । उनीहरूले करिब दुई हप्तासम्म श्रमदान गर्नेछन् । बसोबासका लागि स्थानीयको घर तथा टेन्ट प्रयोग गरिनेछ भने खानाको व्यवस्था मेसमार्फत गरिने जनाइएको छ । पुल निर्माणमा सहयोग गर्न देशका विभिन्न स्थानबाट कार्यकर्ता र समर्थकहरू दार्चुला पुग्ने क्रम जारी रहने बताइएको छ ।
सांसद साम्पाङले दार्चुलाको व्यास गाउँपालिका–२ डोकट क्षेत्रमा पर्ने महाकाली नदीको सहायक कौवा खोलामा रहेको तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने उद्देश्यले यो अभियान सुरु गरेका हुन् । वर्षौँदेखि जोखिमपूर्ण तुइन प्रयोग गर्न बाध्य स्थानीयको समस्या समाधान गर्न श्रमदानमार्फत पुल निर्माण गर्न लागिएको हो ।



कागजपत्र |
