सञ्चारमन्त्री तिमिल्सिनाको स्पष्टोक्ति: “मन्त्रीलाई नयाँ मोबाइल दिने हल्ला पूर्ण रूपमा झूटो”


काठमाडौं-  सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचनाप्रति सचेत रहन नागरिकलाई आग्रह गरेका छन् । पछिल्लो समय “सरकारले सबै मन्त्रीलाई नयाँ मोबाइल फोन वितरण गर्न लागेको” भन्ने आशयमा फैलिएको हल्ला पूर्ण रूपमा झूटो र बनावटी रहेको उनले स्पष्ट पारेका छन् ।

आइतबार बिहान नुवाकोटको लिखु गाउँपालिका–६ छहरे बजारमा स्थानीयसँगको भेटघाटका क्रममा मन्त्री तिमिल्सिनाले यस्ता भ्रामक सामग्रीहरू सरकारप्रति अनावश्यक अविश्वास सिर्जना गर्ने उद्देश्यले फैलाइएका हुन सक्ने बताए । केही व्यक्तिले जानाजानी गलत सूचना फैलाएर भ्रम उत्पन्न गरिरहेको आशंका पनि उनले व्यक्त गरे ।

उनले सामाजिक सञ्जालमा कुनै पनि सूचना साझा गर्नु अघि त्यसको स्रोत र सत्यता अनिवार्य रूपमा जाँच गर्न आग्रह गरे । सरकार जनताको करबाट उठेको पैसाको सदुपयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै दुरुपयोग देखिए नागरिकले निसंकोच प्रश्न उठाउनुपर्ने पनि उनले बताए ।

“तथ्यमा आधारित प्रश्नले सरकारलाई अझ जवाफदेही बनाउँछ,” मन्त्री तिमिल्सिनाले भने, “हामीले जिम्मेवार भएर खबरदारी गर्न र आवश्यक परे प्रश्न गर्न छाड्नु हुँदैन । तर, खराब नियतले फैलाइएका गलत सूचनालाई समयमै चिनेर सचेत रहनु पनि उत्तिकै जरुरी छ ।”

उनले सरकार भ्रष्टाचार र अनियमितताप्रति शून्य सहनशीलताको नीति लिएर अघि बढिरहेको दोहोर्‍याए । अब कुरा मात्रै होइन, काम गरेर देखाउने समय आएको भन्दै उनले परिणाममुखी कार्यसम्पादनमा जोड दिइने बताए । साथै, सरकार गाउँ–गाउँमा पुगेर नागरिकका समस्या सुन्ने र त्यसकै आधारमा नीति निर्माण गर्ने दिशामा अघि बढिरहेको जानकारी दिए ।

प्रतिक्रिया