
इरानद्वारा होर्मुज जलमार्ग पुनः बन्द
काठमाडौं- अमेरिकाले आफ्नो प्रतिबद्धता पूरा नगरेको आरोप लगाउँदै इरानले होर्मुज जलमार्ग पुनः बन्द गरेको जनाएको छ। इरानी सेनाले उक्त जलमार्गमा पुनः नियन्त्रण कायम गरेको दाबी गरेको हो।
यसअघि शुक्रबार उक्त जलमार्ग खोलिएको घोषणा गरिँदा विश्व बजारमा सकारात्मक प्रभाव परेको थियो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौता नभएसम्म खाडी क्षेत्रबाट बाहिरिने जहाजहरूमाथिको नाकाबन्दी कायम रहने बताएका थिए।
इरानी सञ्चारमाध्यमका अनुसार इस्लामिक रिभोल्युश्नरी गार्ड कोरले अमेरिकाको कदमलाई ‘सामुद्रिक डकैती’को संज्ञा दिएको छ। अमेरिकाले नाकाबन्दी हटाउने वाचा पूरा नगरेपछि आफूहरू बाध्य भएर जलमार्ग बन्द गर्नुपरेको इरानको भनाइ छ।
अमेरिकी सेन्ट्रल कमान्डले भने नाकाबन्दी सुरु भएयता २१ वटा जहाजलाई फर्काइएको जनाएको छ। मरिन ट्र्याकिङ डाटाअनुसार केही जहाजहरू भने सुरक्षित मार्ग हुँदै ओमानको खाडीतर्फ अघि बढिरहेका देखिएका छन्।
यसअघि इरानले आफ्ना बन्दरगाहमाथि नाकाबन्दी जारी रहे होर्मुज जलमार्ग बन्द गर्ने चेतावनी दिएको थियो। तनावबीच पनि दुवै पक्षबीच कूटनीतिक वार्ताको प्रयास जारी रहेको जनाइएको छ।



कागजपत्र |
