रूपन्देहीमा नक्कली नोटसहित चार जना पक्राउ


रूपन्देही-  नक्कली नेपाली नोटसहित चार जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दका अनुसार विशेष सूचनाका आधारमा गरिएको निगरानीपछि जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा कपिलवस्तुको वाणगङ्गा नगरपालिका–२ का ३६ वर्षीय विष्णु श्रेष्ठ, नवलपरासी (पूर्व) देवचुली नगरपालिका–१५ का २८ वर्षीय सुजन खनाल भन्ने मुक्तिप्रसाद खनाल, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–८ का ३५ वर्षीय रोलबहादुर श्रेष्ठ र काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–९ का ५३ वर्षीय दीपेन्द्र थापा रहेका छन्।

प्रहरीका अनुसार जिल्लाका विभिन्न स्थानमा नक्कली नोटको अवैध कारोबार भइरहेको सूचना पाएपछि अनुसन्धान अघि बढाइएको थियो।

सोही क्रममा चैत २२ गते सिद्धार्थनगर नगरपालिका–५ (भैरहवा) र चैत २६ गते सैनामैना नगरपालिका–१० भच्कैयाबाट उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेकाबाट एक हजार दरका २१ थान नक्कली नेपाली नोट बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया