
यूएई जाने यात्रुको राहदानीमा केरमेट गर्ने कर्मचारीमाथि छानबिन सुरु
काठमाडौं- अध्यागमन विभागले संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपाली नागरिकको राहदानीमा अनावश्यक रूपमा हस्तलिखित टिप्पणी तथा केरमेट गरेको आरोपमा कर्मचारीमाथि आन्तरिक छानबिन सुरु गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका केही कर्मचारीले यूएई जाने यात्रुहरूको राहदानीमा प्रस्थान छापसँगै “Employment is strictly prohibited. Visit till…” लगायतका शब्द हस्तलिखित रूपमा लेख्न थालेपछि यात्रुहरूले गुनासो र विरोध जनाएका थिए।
विभागले एक विज्ञप्ति जारी गर्दै उक्त विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रचलित कानुन र विभागीय निर्णयभन्दा बाहिर गएर शर्त तोक्ने कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाइएको स्पष्ट पारेको छ।
विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालका अनुसार कुनै पनि नेपाली नागरिकलाई कानुनभन्दा बाहिर गई शर्त तोकेर प्रस्थान अनुमति दिने नीति विभागसँग छैन। उनले भिजिट भिसामा जाने यात्रुहरूका लागि हाल लागू गरिएको व्यवस्थाअनुसार कम्तीमा ६ महिना वैध राहदानी, गन्तव्य मुलुकको हवाई टिकट र भिसा भए पुग्ने व्यवस्था रहेको बताए।
विभागले अनावश्यक कागजात माग गर्ने र तजबिजी निर्णयका कारण हुने अनियमितता रोक्न नीतिगत सुधार गरिएको पनि जनाएको छ।
विज्ञप्तिमा यात्रुहरूको आवागमनलाई झन्झटरहित बनाउँदै अध्यागमन प्रणालीलाई आधुनिक बनाउने काम भइरहेको उल्लेख गरिएको छ। साथै, नियमविपरीत अभ्यास गर्ने कर्मचारीमाथि आन्तरिक छानबिन अघि बढाइएको विभागले जनाएको छ।




कागजपत्र |
