
साइबर सेन्टर र तालिम केन्द्रलाई वैदेशिक रोजगार विभागको कडा निर्देशन
काठमाडौं- वैदेशिक रोजगार विभागले विभाग आसपास तथा अन्य स्थानमा सञ्चालनमा रहेका साइबर सेन्टर र तालिम केन्द्रहरूलाई भ्रमपूर्ण विज्ञापन र बिचौलिया गतिविधि तत्काल बन्द गर्न निर्देशन दिएको छ।
विभागले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै केही साइबर सेन्टर तथा तालिम केन्द्रहरूले “यहाँ श्रम गरिन्छ”, “श्रम स्वीकृति सम्बन्धी कार्य गरिन्छ” वा “श्रम अनलाइन फारम भरिन्छ” जस्ता भ्रामक शब्द प्रयोग गरी सेवाग्राहीलाई झुक्याइरहेको पाइएको जनाएको छ।
यस्ता गतिविधिबाट सेवाग्राहीलाई अनावश्यक आकर्षण देखाई रकम असुल गर्ने र बिचौलियाको रूपमा काम भइरहेको गुनासो तथा जानकारी प्राप्त भएपछि विभागले यस्तो निर्देशन जारी गरेको हो।
विभागका अनुसार प्रचलित कानुनअनुसार श्रम स्वीकृति सम्बन्धी सम्पूर्ण प्रक्रिया केवल विभाग र तोकिएका श्रम तथा रोजगार कार्यालयहरूबाट मात्र हुने व्यवस्था छ।
विभागले त्यस्ता भ्रमपूर्ण प्रचार–प्रसार तत्काल बन्द गर्न निर्देशन दिँदै कार्यालयहरूमा राखिएका बोर्ड, होर्डिङ बोर्ड, फ्लेक्स तथा भित्ते लेखन लगायतका सामग्रीहरू चैत ३० गतेभित्र अनिवार्य रूपमा हटाउन समेत आदेश दिएको छ।
निर्देशन पालना नगर्ने संस्थामाथि वैदेशिक रोजगार ऐन, २०६४ तथा अन्य प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि विभागले दिएको छ।
साथै, सेवाग्राहीलाई आधिकारिक निकायबाट मात्र सेवा लिन र बिचौलियाको भ्रममा नपर्न पनि विभागले आग्रह गरेको छ।



कागजपत्र |
