सरकारको आग्रह- ‘घरबाटै काम गर्नुस्’


काठमाडौं-  सरकारले बढ्दो इन्धन संकटलाई ध्यानमा राख्दै सकेसम्म कार्यालयका काम घरबाटै गर्न आह्वान गरेको छ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री प्रतिभा रावलले पश्चिम एसियामा जारी युद्धका कारण इन्धन आपूर्ति प्रभावित भएको र संकट गहिरिँदै गएको बताइन्। यस्तो अवस्थामा इन्धन खपत घटाउन सरकारले वैकल्पिक उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले घरबाटै काम गर्न आग्रह गरिएको जानकारी दिइन्।

“पश्चिम एसियामा युद्धका कारण इन्धन संकट गहिरिएको तथ्य सरकारले लुकाएको छैन,” उनले भनिन्, “सम्भव भएसम्म कार्यालयका काम घरबाटै गर्न सबैमा आग्रह गर्दछौं।”

इन्धन बचतका लागि सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको र उच्च पदस्थ अधिकारीहरूको इन्धन सुविधा समेत कटौती गरिएको उनले बताइन्। साथै इन्धन खपत कम गर्न सबै क्षेत्रबाट सहयोग आवश्यक रहेकोमा जोड दिइन्।

आवश्यकता अनुसार जोर–बिजोर प्रणाली लागू गर्न सकिने संकेत दिँदै मन्त्री रावलले सरकारले दीर्घकालीन समाधानका रूपमा विद्युतीय सवारी साधनको प्रवर्द्धनमा ध्यान केन्द्रित गरेको पनि जानकारी दिइन्।

प्रतिक्रिया