
‘बले’ बलात्कार आरोपमा पक्राउ परेका होइनन् : प्रहरी
काठमाडौं – कलाकार सागर लम्साल ‘बले’लाई प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार विज्ञप्ति जारी गर्दै लम्साललाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी हिरासतमा राखिएको जनाएको हो।
प्रहरीले सामाजिक सञ्जालमा लम्साललाई बलात्कारको आरोपमा पक्राउ गरिएको भन्दै फैलाइएको खबरलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। त्यस्ता सूचनाहरू अप्रमाणित र भ्रामक भएको भन्दै प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रवक्ता पवनकुमार भट्टराईका अनुसार लम्सालविरुद्ध अभद्र व्यवहारसम्बन्धी उजुरीका आधारमा मात्रै अनुसन्धान भइरहेको हो। उनले बलात्कारसम्बन्धी कुनै पनि उजुरी दर्ता नभएको स्पष्ट पारे।
प्रहरीले घटनाबारे विस्तृत विवरण सार्वजनिक नगरेको र अनुसन्धान जारी रहेको जनाउँदै आधिकारिक स्रोतबाट आउने सूचनामात्र विश्वास गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।



कागजपत्र |
