
बलेलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगियाे
काठमाडौं- बलात्कार आरोपमा पक्राउ परेका कलाकार सागर लम्साल ‘बले’लाई प्रहरीले म्याद थपका लागि आइतबार सरकारी वकिल कार्यालय काठमाडौंमा उपस्थित गराएको छ।
अमेरिकामा बस्दै आएकी एक युवतीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई लम्सालले बलात्कार गरेको आरोप लगाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। तर, उक्त आरोप सम्बन्धमा पीडित पक्षबाट औपचारिक जाहेरी भने हालसम्म नपरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार संवेदनशील विषय सार्वजनिक भएपछि अनुसन्धानका लागि लम्साललाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले जाहेरी नपरेको अवस्थामा पनि अनुसन्धान जारी राख्न सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत उनलाई थुनामा राख्ने तयारी गरेको जनाएको छ। यसका लागि प्रमुख जिल्ला अधिकारीबाट म्याद लिने प्रक्रिया अघि बढाइएको छ।
प्रहरीका अनुसार आरोपबारे आवश्यक अनुसन्धान भइरहेको छ र थप प्रक्रिया जाहेरी तथा प्रमाणका आधारमा अगाडि बढाइनेछ।



कागजपत्र |
