यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय


काठमाडौं-  सरकारले आइतबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो १ बजे सुरु भएको बैठक केहीबेरअघि सम्पन्न भएको हो।

बैठकले विश्व बैंकबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। साथै, आइतबार र शनिबार सार्वजनिक बिदा दिने विषयमा पनि निर्णय गरिएको जनाइएको छ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णयसमेत गरेको छ। सरकारका अनुसार शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन नयाँ शैक्षिक क्यालेन्डरअनुसार सत्र सुरु गरिनेछ।

बैठकका अन्य निर्णयहरू पनि सम्बन्धित मन्त्रालयमार्फत क्रमशः सार्वजनिक गरिने बताइएको छ।

यी हुन्  निर्णय

–डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टका लागि क्रमश: एशियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।

–दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।

–नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन, सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने ।

–राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिनुभएको राजीनामा स्वीकृत गर्ने ।

–पेट्रोलियम आपूर्तीमा उत्पन्न असहजताका कारण ०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने ।

–शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने ।

–डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने ।

–आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने

प्रतिक्रिया