काम मात्रै गर्न पाए र परिणाम दिन पाए हुन्थ्यो भन्ने सोचले थिचेको छ : सञ्चारमन्त्री तिमिल्सिना


काठमाडौं-  सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले रेडियो नेपालको ऐतिहासिक भूमिका र वर्तमान सान्दर्भिकताबारे चर्चा गर्दै संस्थालाई समयअनुकूल रूपान्तरण गर्न आवश्यक रहेको बताएका छन्। रेडियो नेपालको ७६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नेपालको सूचना र मनोरञ्जन क्षेत्रमा रेडियो नेपालको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे।

मन्त्री तिमिल्सिनाले ‘सूचना जनताको हक हो’ भन्ने मान्यता स्थापित भएसँगै रेडियो नेपालको स्थापना भएको र त्यसयता यसले निरन्तर सेवा दिँदै आएको बताए। उनले समयसँगै सञ्चार क्षेत्र, बजार र प्रसारण विधिमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै रेडियो नेपालले पनि सोहीअनुसार आफूलाई परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याए।

संस्थाको दिगोपनाका लागि आत्मसुधार अपरिहार्य रहेको बताउँदै उनले बाह्य सहयोगभन्दा आन्तरिक सुधारमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरे। उनले रेडियो नेपालले जनताको अपेक्षा, बजारको अवस्था र प्रसारण शैलीबारे पुनः मूल्यांकन गर्नुपर्नेमा जोड दिए।

मन्त्री तिमिल्सिनाले अहिलेको सञ्चार वातावरण पहिलेको भन्दा फरक भएको उल्लेख गर्दै संस्थाले आफूलाई जोगाउन स्वयं सुधार गर्नुपर्ने बताए। उनले कार्यक्रम तथा अन्य औपचारिक गतिविधिका कारण कार्यचाप बढेको र त्यसले काममा प्रभाव पार्ने गरेको पनि उल्लेख गरे।

‘अहिले कामको चापले हामी च्यापिएका छौं,’ उनले भने, ‘कार्यक्रममा जान नपरे हुन्थ्यो जस्तो लाग्छ, काम मात्रै गर्न पाए र परिणाम दिन पाए हुन्थ्यो भन्ने सोचले हामीलाई थिचेको छ।’

प्रतिक्रिया