संसदमा हर्क साम्पाङका एजेन्डा – एमसीसी खारेजदेखि सांसदको सम्पत्ति छानबिनसम्म


काठमाडौं-  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ) ले संसदको पहिलो बैठकमै सरकार र सांसदहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । उनले भ्रष्टाचार अन्त्य गर्न अरूलाई औँला देखाउनुभन्दा पहिले आफूबाटै सुरुवात गर्नुपर्ने बताएका छन् ।

संसद्मा सम्बोधन गर्दै उनले आफ्नो सम्पत्तिबाट छानबिन सुरु गर्न तयार रहेको उल्लेख गर्दै सबैलाई समान रूपमा लागू हुने कानुन ल्याउनुपर्नेमा जोड दिए । “अरूलाई मात्र कस्ने नियम होइन, सबैलाई बराबरी हुने व्यवस्था हुनुपर्छ,” उनले भने ।

त्यस्तै, उनले संसद सञ्चालनमा भएको ढिलाइप्रति पनि असन्तुष्टि जनाए । सांसदको शपथ ग्रहणदेखि पहिलो बैठकसम्म समयमै सुरु नभएको उल्लेख गर्दै उनले प्रत्येक मिनेटको मूल्य बुझ्नुपर्ने बताए । “जनताले ढिलो गर्न पठाएका होइनन्,” उनले भने, “अब प्रत्येक बैठक सुरु हुनुभन्दा ५ मिनेटअघि नै सबै उपस्थित हुनुपर्छ ।”

‘नेपाली समय’ भन्दै ढिलाइ गर्ने प्रवृत्तिले देशको विकासमा अवरोध पुगेको उनको धारणा थियो । साथै, सदनभित्रै समय बाँडफाँटमा विभेद भएको भन्दै सत्तापक्षलाई बढी र प्रतिपक्षलाई कम समय दिइएकोमा उनले आपत्ति जनाए ।

आफ्नो सम्बोधनमा साम्पाङले अमेरिकी सहयोग परियोजना एमसीसी खारेजको मुद्दासमेत उठाए । नेपाल कुनै पनि देशको सामरिक प्रभावमा पर्न नहुने उनको भनाइ थियो । उनले संयुक्त राष्ट्रसंघमार्फत नेपालको सिमाना सुनिश्चित गर्नुपर्ने, सुकुम्बासी बस्तीमा भइरहेको डोजर कारबाही रोक्नुपर्ने तथा वृद्धभत्ता सम्बन्धी नीति पुनर्विचार गर्नुपर्ने माग पनि राखे ।

साथै, उनले भूपू गोर्खा सैनिकहरूको समान पेन्सन, धनी–गरिब सबैका लागि समान अवसर र उपत्यकाबाहिरका क्षेत्रलाई समेत समान रूपमा विकास गर्नुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया