
निवेदन लेख्ने नाममा असुली बन्द गर्न प्रहरीलाई आईजीपीको निर्देशन
काठमाडौं- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सेवाभित्र बिचौलियाको अन्त्य गर्न र सर्वसाधारणलाई निःशुल्क निवेदन लेख्ने व्यवस्था सुनिश्चित गर्न निर्देशन दिएका छन् ।
बुधबार इलाका प्रहरी कार्यालय बुटवल परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन उद्घाटन गर्दै उनले एउटै व्यक्तिका नाममा धेरै बिचौलिया प्रवेश गरी व्यक्तिगत स्वार्थ पूरा गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए । उनले एउटा व्यक्तिको कामका लागि धेरै जना धाउने अवस्था रहन नहुने स्पष्ट पारे ।
महानिरीक्षक कार्कीले निवेदन लेख्न नसक्ने सर्वसाधारण, सीमान्तकृत वर्ग तथा सेवाग्राहीबाट निवेदन लेख्ने नाममा रकम असुल्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । यस्ता वर्गका लागि प्रहरी आफैंले निःशुल्क निवेदन लेख्ने व्यवस्था मिलाउन निर्देशन दिँदै उनले स्वयंसेवीलाई पनि यसतर्फ सचेत हुन आग्रह गरे ।
उनले प्रहरी कर्मचारीले बोलीवचन र कार्यशैलीमा सकारात्मक परिवर्तन गर्दै नागरिकको अपेक्षाअनुसार समयमै प्रभावकारी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । साथै, प्रविधिमैत्री सेवा विस्तार गर्दै प्रहरी सेवालाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए ।
महानिरीक्षक कार्कीले सीमित स्रोत–साधनका बाबजुद नागरिकप्रतिको जिम्मेवारी र नागरिकको सहयोगले प्रहरीलाई अझ उत्तरदायी भएर काम गर्न प्रेरित गर्ने उल्लेख गरे ।
बेलायत सरकारको सहयोगमा निर्माण भएको उक्त भवनको कुल लागत दुई करोड ४१ लाख ४३ हजार ७५३ रुपैयाँ रहेको जनाइएको छ ।



कागजपत्र |
