
निगमको मूल्यवृद्धिपछि ५ हजारभन्दा बढीले बढ्यो हवाई भाडा
काठमाडौं- नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्यमा भारी वृद्धि गरेसँगै वायुसेवा कम्पनीहरूले यात्रुबाट उठाइने इन्धन शुल्क उल्लेख्य रूपमा बढाएका छन् ।
निगमले बुधबार बिहानदेखि लागू हुने गरी इन्धनको मूल्य प्रतिलिटर १२४ रुपैयाँले बढाएपछि आन्तरिक वायुसेवाले इन्धनवापतको शुल्क अधिकतम ५ हजार ४ सय ५३ रुपैयाँसम्म बढाएका हुन् ।
वायुसेवा कम्पनीका अनुसार सबैभन्दा बढी प्रभाव काठमाडौं–धनगढी उडानमा परेको छ । इन्धन शुल्क हवाई भाडासँगै जोडिने भएकाले यात्रुले टिकटमै थपिएको मूल्य तिर्नुपर्ने भएको छ । बुधबारदेखि नै यात्रुले बढेको शुल्कसहितको हवाई भाडा तिर्न थालेका छन् ।
पर्वतीय उडानमा सबैभन्दा बढी ४ हजार २२५ रुपैयाँसम्म इन्धन शुल्क बढेको छ । नियमित सहरी गन्तव्यमध्ये सिमरा उडानमा सबैभन्दा कम वृद्धि देखिएको छ, जहाँ १ हजार ११० रुपैयाँसम्म भाडा बढाइएको छ ।
वायुसेवा कम्पनीहरूले बढाइएको इन्धन शुल्क १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) सहित लागू गरिएको जानकारी दिएका छन् ।
| गन्तव्य | पुरानो शुल्क | नयाँ शुल्क | बढेको रकम |
| काठमाडौं–माउन्टेन | ४,३९० | ८,६१५ | ४,२२५ |
| काठमाडौं–भरतपुर | १,३७० | २,६९० | १,३२० |
| काठमाडौं–पोखरा | २,०३० | ३,९८५ | १,९५५ |
| काठमाडौं–विराटनगर | ३,०३७ | ६,०३० | २,९९३ |
| काठमाडौं–जनकपुर | १,६४५ | ३,२३० | १,५८५ |
| काठमाडौं–सिमरा | १,१५० | २,२६० | १,११० |
| काठमाडौं–भैरहवा | २,६३५ | ५,१७० | २,५३५ |
| काठमाडौं–धनगढी | ५,६५५ | ११,०९० | ५,४३५ |
| काठमाडौं–नेपालगन्ज | ४,१७० | ८,१८५ | ४,०१५ |
| काठमाडौं–भद्रपुर | ३,८४५ | ७,५४० | ३,६९५ |
| काठमाडौं–तुम्लिङटार | २,३६० | ४,६३० | २,२७० |
| काठमाडौं–सुर्खेत | ४,४२० | ८,६७२ | ४,२५२ |
| काठमाडौं–राजविराज | २,६१५ | ५,१३५ | २,५२० |
| पोखरा–भरतपुर | १,४२० | २,७९० | १,३७० |
| पोखरा–भैरहवा | १,६५० | ३,२३५ | १,५८५ |
| पोखरा–नेपालगन्ज | ३,०३५ | ५,९५५ | २,९२०
|



कागजपत्र |
