अनलाइन हिंसाविरुद्ध अमिशा पराजुली साइबर ब्युरोमा


काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै गरिएको आन्दोलनमा सहभागी भएकी एक युवतीले आफूमाथि भएको अनलाइन हिंसाविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छन्।

भक्तपुरकी २० वर्षीया अमिशा पराजुलीले बुधबार साइबर ब्युरो पुगेर सामाजिक सञ्जालमार्फत गालीगलौज, अपशब्द प्रयोग तथा धम्की दिने व्यक्तिहरूविरुद्ध कारबाहीको माग गर्दै उजुरी दर्ता गराएकी हुन्। साइबर ब्युरोका प्रवक्ता एवं एसपी दिलीपकुमार गिरीले उजुरी प्राप्त भएको र दर्ता प्रक्रियामा रहेको जानकारी दिए।

अमिशाले एमालेले आयोजना गरेको प्रदर्शनमा ‘केपी बालाई रिहा गर, केपी बा आई लभ यू’ भन्दै नारा लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीमाथि अश्लील टिप्पणी, चरित्र हत्या तथा यौनहिंसाको धम्कीसमेत आउने क्रम बढेको हो। उनले आफूलाई लक्षित गरी हजारौँ अपमानजनक कमेन्ट, ट्रोल तथा धम्कीपूर्ण अभिव्यक्ति आएको बताएकी छन्।

 

प्रतिक्रिया