
इनिशा विक प्रकरण: अभियोग दर्तापछि सुर्खेतमा दुवै पक्षकाे प्रदर्शन
सुर्खेत- इनिशा विक हत्यासम्बन्धी मुद्दामा अदालतमा अभियोग दर्ता भएपछि सुर्खेतमा दुवै पक्षकाे प्रदर्शन चर्किएको छ। सामूहिक बलात्कार र कर्तव्य ज्यान उद्योगको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध सरकारी वकिल कार्यालयले अभियोजन दर्ता गरेपछि घटनाले नयाँ मोड लिएको हो।
इनिशाका आफन्त तथा अधिकारकर्मीहरू विगत २५ दिनदेखि न्यायको माग गर्दै प्रदर्शन र धर्नामा उत्रिँदै आएका छन्। आइतबार सरकारी वकिल कार्यालयले अभियोग दर्ता गरेसँगै आरोपित पक्षका आफन्तहरू पनि प्रदर्शनमा सहभागी भएका छन्।
आरोपित पक्षका आफन्तहरूले अदालतले तथ्य र प्रमाणको आधारमा नभई हचुवाका भरमा अभियोजन दर्ता गरेको दाबी गर्दै मंगलबार वीरेन्द्रनगरमा प्रदर्शन गरे। बजारमा प्रदर्शनपछि उनीहरू सुर्खेत जिल्ला अदालत अगाडि धर्नामा बसेका थिए। सो क्रममा उनीहरूले सरकारी वकिलविरुद्ध नाराबाजीसमेत गरेका छन्।
उनीहरूको आरोप अनुसार एक जनाको गल्ती भए पनि साथ दिन गएकै आधारमा अन्यलाई फसाउन खोजिएको छ। सोमबार सरकारी वकिल कार्यालयले घटनामा संलग्न चार जना किशोरविरुद्ध सामूहिक बलात्कार र कर्तव्य ज्यान मुद्दामा कैद सजाय र जरिवाना माग गर्दै सुर्खेत जिल्ला अदालतमा अभियोग दायर गरेको थियो।
सो मुद्दामा बाल इजलासमा सुनुवाइ भइरहेको छ। सोमबार अभियुक्तहरूको बयान सकिएको र मंगलबार थुनछेक बहसपछि अदालतले निर्णय दिने बताइएको छ। यसबीच इनिशा पक्षका आफन्तहरूले न्यायको माग गर्दै धर्ना जारी राखेका छन् भने आरोपित पक्षका आफन्तहरूले निर्दोषलाई फसाउन खोजिएको भन्दै विरोध गरिरहेका छन्।
दुवै पक्षको प्रदर्शनका कारण जिल्ला अदालत आसपासको क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ।



कागजपत्र |
