
ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन जारी
काठमाडौं- नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा आज पनि प्रदर्शनलाई निरन्तरता दिएको छ । राजनीतिक प्रतिशोधका आधारमा गैरकानुनी रूपमा पक्राउ गरिएको आरोप लगाउँदै एमाले सडक आन्दोलनमा उत्रिएको हो ।
एमालेका नेता तथा कार्यकर्ताहरू काठमाडौंको माइतीघरमा भेला भएर बबरमहलतर्फ नाराबाजीसहित प्रदर्शन गरिरहेका छन्। प्रदर्शनमा सहभागीहरूले ओलीको रिहाइको माग गर्दै सरकारविरुद्ध चर्को विरोध जनाएका छन्।
यसअघि एमालेका सचिव महेश बस्नेतले माइतीघरमा हुने प्रदर्शनमा सहभागी हुन पार्टी पंक्तिलाई आह्वान गरेका थिए। उनले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढिरहेको आरोपसमेत लगाएका छन्।
एमालेले अध्यक्ष ओली पक्राउ परेको दिन शनिबारदेखि नै निरन्तर प्रदर्शन गर्दै आएको छ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको घटनामा प्रधानमन्त्रीको हैसियतमा जिम्मेवार ठहर गर्दै जाँचबुझ आयोगले अनुसन्धानका लागि सिफारिस गरेको थियो।
उक्त सिफारिसकै आधारमा प्रहरीले गत शनिबार ओलीलाई पक्राउ गरेको हो।



कागजपत्र |
