इनिशा विककाे बलात्कारपछि हत्या भएको निष्कर्ष


सुर्खेत- सुर्खेतकी इनिशा विकको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले अनुसन्धान सम्पन्न गरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुधीर शाहीका अनुसार घटनामा बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको हो।

वीरेन्द्रनगर नगरपालिका–१ निवासी इनिशा गत फागुन २३ गते वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन्। तत्काल कर्णाली प्रदेश अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले एक १६ वर्षीय किशोरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। प्रारम्भिक बयानमा ती किशोरले इनिशासँग शारीरिक सम्पर्कपछि अत्यधिक रक्तश्राव भई उनी बेहोस भएको बताएका छन्।

पोस्टमार्टम रिपोर्टले पनि यौनांगको भित्री भागमा गहिरो चोट लागेका कारण अत्यधिक रक्तश्राव भई मृत्यु भएको पुष्टि गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आशंकामा अन्य तीन जनालाई समेत पक्राउ गरिएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जना मुख्य आरोपी रहेका छन् भने अन्य तीन जना सहयोगीको भूमिकामा रहेको निष्कर्ष निकालिएको छ। सोही आधारमा कारबाहीका लागि जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतमा राय पठाइएको छ।

घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समेत खटिएको थियो। प्रहरीले उच्च प्रविधिको प्रयोग गर्दै घटनाको सत्यतथ्य पत्ता लगाएको जनाएको छ।

घटनाको १९ दिन बितिसक्दा पनि इनिशाको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको छ। परिवारले न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएका छन्।

प्रतिक्रिया