
एक अर्बभन्दा बढीको क्रिप्टो कारोबार: भारतीय नागरिकसहित ३ जना पक्राउ
काठमाडौं- नेपालमै बसेर अवैध हुण्डी तथा क्रिप्टोकरेन्सी कारोबार सञ्चालन गरेको आरोपमा एक भारतीय नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरी अन्तर्गत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय बाट खटिएको टोलीले शुक्रबार काठमाडौं र ललितपुर का विभिन्न स्थानबाट उनीहरूलाई १५ लाख ३० हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतका नागरिक प्रवेश अली, बाँके घर भएका ३१ वर्षीय नरेश रेउले र सर्लाही घर भएकी ३० वर्षीया दीप्ति पोखरेल रहेका छन्। टेकुस्थित प्रहरीका अनुसार अलीले नेपाली नागरिकलाई प्रयोग गर्दै बाइनान्स एपमार्फत करिब एक अर्ब ३६ करोड रुपैयाँ बराबरको अवैध कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
गोप्य सूचनाका आधारमा प्रहरीले सुरुमा दिउँसो करिब २:३० बजे काठमाडौँको सामाखुसी क्षेत्रबाट नरेश रेउलेलाई नियन्त्रणमा लिएको थियो। सोधपुछका क्रममा उनले भारतीय नागरिक अली र दिसी पोखरेलका लागि ‘युएसडीटी’ खरिदबिक्री गर्दै आएको स्वीकार गरेका थिए।
त्यसपछि रेउलेकै बयानका आधारमा प्रहरीले सोही दिन दिउँसो ४:३० बजे सामाखुसीकै रेडहनपुल क्षेत्रबाट दिसी पोखरेललाई १५ लाख ३० हजार रुपैयाँ नगदसहित पक्राउ गर्यो।
दुवै नेपाली सहयोगी पक्राउ परेपछि उनीहरूकै सूचनाका आधारमा प्रहरीले साँझ करिब ७ बजे ललितपुरको एकान्तकुनाबाट मुख्य योजनाकार मानिएका ४१ वर्षीय भारतीय नागरिक प्रवेश अलीलाई नियन्त्रणमा लिएको हो। भारतको पश्चिम बंगालस्थित मोदिनीपुर घर भएका अली हाल एकान्तकुनामै बस्दै आएका थिए।
प्रारम्भिक अनुसन्धानअनुसार अलीले आफ्नो मोबाइलमार्फत ९१ लाख ८१ हजार ५१३ युएसडीटी (करिब एक अर्ब ३६ करोड ८० लाख रुपैयाँभन्दा बढी) बराबरको अवैध कारोबार गरेको देखिएको छ। उनले नेपाली नागरिकलाई अगाडि सार्दै नेपालभित्रैबाट ठूलो परिमाणमा क्रिप्टो र हुण्डी कारोबार सञ्चालन गरिरहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट १५ लाख ३० हजार रुपैयाँ नगद र विभिन्न कम्पनीका चार थान मोबाइल सेट बरामद गरेको छ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको जानकारी मनोहर प्रसाद भट्ट ले दिएका छन्।



कागजपत्र |
