
लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरु हुने तयारी
काठमाडौं – भारत र चीनले नेपालको दाबी रहेको लिपुलेक भञ्ज्याङ हुँदै सीमा व्यापार पुनः सुरु गर्ने तयारी गरेका छन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार सन् २०२० मा कोभिड–१९ महामारीका कारण बन्द भएको उक्त व्यापारिक मार्ग करिब ६ वर्षपछि पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको हो। व्यापारिक सिजन आगामी जुनदेखि सेप्टेम्बरसम्म सञ्चालन गर्ने योजना बनाइएको छ, जसलाई मौसमअनुसार थप विस्तार गर्न सकिने जनाइएको छ।
भारतको पिथौरागढ जिल्लाका अधिकारीहरूका अनुसार केन्द्र सरकारको निर्देशनपछि नाका सञ्चालनका लागि आवश्यक तयारी तीव्र पारिएको छ। व्यापार अनुमति जारी गर्ने प्रक्रिया पनि सुरु हुने र व्यापारीहरूलाई दर्ताका लागि समय दिइने बताइएको छ।
लिपुलेक भञ्ज्याङ रणनीतिक रूपमा महत्वपूर्ण मार्ग हो, जसले भारतलाई तिब्बतस्थित ताक्लाकोटसँग जोड्छ। करिब १७ हजार ५०० फिट उचाइमा रहेको यो नाका ऐतिहासिक रूपमा व्यापार र तीर्थयात्राका लागि प्रयोग हुँदै आएको छ। पछिल्लो समय सडक पूर्वाधारमा सुधार आएपछि व्यापारिक गतिविधि अझ विस्तार हुने अपेक्षा गरिएको छ।
तर, उक्त क्षेत्र नेपालले आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ। कालापानी र लिम्पियाधुरासहित लिपुलेक क्षेत्रलाई समेट्दै नेपालले सन् २०२० मा नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो। त्यसबेला केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान संशोधनमार्फत् उक्त नक्सालाई आधिकारिकता दिएको थियो।
यद्यपि, भारतले उक्त कदमको विरोध गर्दै आएको छ र लिपुलेक क्षेत्र हाल भारतकै नियन्त्रणमा रहेको छ।
यसैबीच नेपालभित्र पनि राजनीतिक परिदृश्य परिवर्तन भइरहेका बेला यो विषय पुनः चर्चामा आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा सरकार बन्ने चर्चा चलिरहँदा लिपुलेकमार्फत् व्यापार खोल्ने भारत–चीनको तयारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।



कागजपत्र |
