इरानको भीषण मिसाइल वर्षा: इजरायलमा १५० बढी घाइते, ऊर्जा केन्द्र निशानामा


काठमाडौं-  इरानले इजरायल माथि अहिलेसम्मकै भीषण मिसाइल आक्रमण गरेको छ। आज बिहानदेखि मध्य इजरायललाई केन्द्रित गर्दै गरिएको आक्रमणमा कम्तीमा डेढ सय जना घाइते भएको इजरायली सेनासम्बद्ध रेडियोले पुष्टि गरेको छ।

आक्रमणका कारण विभिन्न स्थानका ठूला भवनहरूमा व्यापक क्षति पुगेको छ भने ऊर्जा संरचनाहरूलाई लक्षित गर्दै हमला झनै तीव्र पारिएको बताइएको छ। संयुक्त राज्य अमेरिका र इजरायलले इरानका ऊर्जा तथा तेल खानीहरूमा आक्रमण गरेपछि तेहरानले त्यसको जवाफस्वरूप यो कारबाही थालेको हो।

इजरायली सेनाका अनुसार इरानबाट दोस्रो चरणको हमला समेत जारी छ र प्रहार गरिएका मिसाइलहरूलाई आकाशमै निष्क्रिय पार्ने प्रयास भइरहेको छ। घाइतेहरूको संख्या बढ्दै जाँदा धेरैलाई अस्पताल भर्ना गरिएको जनाइएको छ।

यसैबीच, इरानले आफ्नो ऊर्जा तथा आणविक केन्द्रहरूमा आक्रमण भएमा अमेरिका र उसका समर्थक देशका ऊर्जा संरचनामाथि कडा जवाफी प्रहार गर्ने चेतावनी दिएको छ। साथै, अमेरिका र इजरायलका ऊर्जा, पानी तथा सूचना प्रविधिसम्बन्धी केन्द्रहरूलाई लक्षित गरेर आक्रमण गर्न सकिने संकेतसमेत इरानले दिएको छ।

प्रतिक्रिया