अब १५औं महाधिवेशनको तयारीमा लागाैंः कांग्रेस महामन्त्री घिमिरे


काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टी पंक्तिलाई १५औँ महाधिवेशनको तयारीमा लाग्न आग्रह गरेका छन्।

पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक अघि शुक्रबार पत्रकारहरूसँग बोल्दै महामन्त्री घिमिरेले यस्तो बताएका हुन् ।

उनले पार्टीसँग सुदृढ वैचारिक आधार, ऐतिहासिक योगदान र सक्षम नेतृत्व रहेको उल्लेख गर्दै विगतका असहमति र विवाद पन्छाउँदै आन्तरिक एकतालाई मजबुत बनाउनुपर्ने बताए ।

अनावश्यक बहसमा समय खर्च नगरी साझा उद्देश्यतर्फ केन्द्रित हुँदै संगठनलाई सुदृढ बनाउन आवश्यक रहेको पनि उनले बताए ।

कार्यकर्तालाई तत्कालैदेखि एकताबद्ध भएर महाधिवेशन तयारीमा जुट्न आह्वान गर्दै पार्टीको भविष्यलाई दिशानिर्देश गर्ने अवसरका रूपमा यस प्रक्रियालाई लिनुपर्ने उनले बताए ।

पार्टीको संस्थागत इतिहास, योगदान र नेतृत्व क्षमताले आगामी दिनमा पनि सकारात्मक दिशा प्रदान गर्ने विश्वास पनि उनले जनाएका छन् ।

महामन्त्री घिमिरेले विगतका तिता अनुभव पन्छाएर सहकार्य र समन्वयमार्फत् अघि बढ्नु जरूरी रहेको बताउँदै एकता नै संगठन सुदृढीकरणको आधार हुने पनि सन्देश दिएका छन् ।

प्रतिक्रिया