म गगन थापाको ससुरा मात्र होइन, मेरो राजनीतिक पहिचान अलग छ : अर्जुननरसिंह केसी


काठमाडौं –  नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफ्नो दाबी स्वाभाविक रहेको बताएका छन्। उनले आफू सिनियर नेता भएको र पार्टीमा लामो राजनीतिक योगदान रहेको आधारमा यो दाबी रहेको बताएका हुन्।

केन्द्रीय कार्यसमिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै केसीले भने, “म सबभन्दा सिनियर पनि हुँ। संसदीय अभ्यास र यात्रामा मैले ठूलो योगदान गरेको छु। २०४७ सालपछिको संसद्मा कांग्रेसको नेतृत्वमा म पनि सिंगै भाग लिएको छु।”

उनी गगन थापाको ससुरा भनेर प्रचार गरिएकोप्रति असन्तुष्ट छन्। उनले थपे, “म गगन थापाको ससुरा भएर मात्र अर्जुननरसिंह केसी भएको होइन। २०१८ साल वैशाख ७ गतेदेखि जेल जीवन सुरु गरेर साढे ६–७ वर्ष जेल बसेँ। मेरो राजनीतिक पहिचान अलग छ, गगनजी आफ्नो व्यक्तित्वले उदय हुनुभयो भने म मेरो क्षमताले आएको हुँ।”

केसीले सभापति गगन थापाले पेश गरेको राजीनामा र पार्टीभित्रको विवादबारे पनि बोले। उनले भने, “केन्द्रीय कार्यसमितिका सबै सदस्य जिम्मेवार छन्। कांग्रेसभित्र फेरि एकता आवश्यक छ। यसले नकारात्मक दृष्टिले हेर्ने र आपसमा आरोप–प्रत्यारोप गर्ने बाटो होइन, समग्र रूपबाट पार्टीलाई एकीकृत गर्ने चिन्तन अहिले आवश्यक छ।”

उनले सभापति थापाको राजीनामा अस्वीकृत गर्नेबारे केन्द्रीय कार्यसमितिको निर्णय पर्खिन आग्रह पनि गरे।

प्रतिक्रिया