
क्यासिनो सञ्चालक शर्मा किन परेनन् पक्राउ ?
काठमाडौं – बुढानीलकण्ठ नगरपालिका–१ स्थित होटल लेमन-ट्रीमा सञ्चालित क्यासिनो गरुड़मा नेपाली नागरिकलाई अवैध रूपमा जुवा खेलाइरहेको खुलासा भएपछि घटनाले गम्भीर रूप लिएको छ । प्रहरीले छापा मार्दा १३ जना नेपाली पक्राउ परेपछि गम्भिर मोड लिएको हो ।
प्रारम्भिक अनुसन्धानले देखाएको तथ्य झन् गम्भीर छ- नेपालीलाई क्यासिनो प्रवेशमा प्रतिबन्ध हुँदाहुँदै पनि संगठित रूपमा जुवा खेलाउने गिरोह सक्रिय रहेको फेला परेको हो । स्रोतका अनुसार क्यासिनोका नेपाली मालिक अनीश शर्माले केही जुवा अखडा चलाउने नाइकेहरूसँग मिलेमतो गरी नेपालीलाई क्यासिनोभित्र प्रवेश गराई जुवा खेलाउने व्यवस्था मिलाउँदै आएका थिए।
अचम्मको कुरा के छ भने, जुवा खेल्ने र खेलाउने व्यक्तिहरू पक्राउ परे पनि मुख्य सञ्चालक शर्मा भने अझै प्रहरीको पहुँच बाहिर छन्। यसले ‘सेटिङ’को आशंका झन् बलियो बनाएको छ। प्रहरी स्रोतले उनको खोजी जारी रहेको बताए पनि सार्वजनिक रूपमा कडा कदम नदेखिँदा प्रश्न उठ्न थालेका छन्।
नेपालको जुवा ऐन २०२० स्पष्ट छ-
- – जुवा खेल्ने मात्रै होइन, खेलाउने, आयोजना गर्ने वा स्थान उपलब्ध गराउने व्यक्तिलाई समेत कडा सजायको व्यवस्था छ।
- – यस्तो गतिविधिमा संलग्न व्यक्तिलाई जरिवाना र कैद दुवै हुन सक्छ।
यससँगै क्यासिनो सञ्चालनसम्बन्धी नियमअनुसार:
- – नेपाली नागरिकलाई क्यासिनो प्रवेश पूर्ण रूपमा निषेध गरिएको छ। नियम उल्लंघन भएमा क्यासिनोको लाइसेन्स समेत खारेज गर्ने सम्मको व्यवस्था छ।
जब घटनास्थलबाट जुवाडे पक्राउ पर्छन्, नगद बरामद हुन्छ, अवैध गतिविधि पुष्टि हुन्छ-त्यसपछि पनि मुख्य सञ्चालक किन फरार रहन्छ? यो सामान्य लापरवाही होइन, गम्भीर शंका उठाउने विषय हो।
राजधानीमै खुलेआम नेपालीलाई जुवा खेलाउने धन्दा चलिरहँदा सम्बन्धित निकाय मौन बस्नु आफैंमा आपत्तिजनक छ। यदि अहिले पनि कडा कदम चालिएन भने यस्ता अवैध क्यासिनो नेटवर्क झन् फैलिने निश्चित छ। जुवा ऐन २०२० अनुसार क्यासिनोको लाइसेन्स तुरुन्त खारेजसम्म हुन्छ ।
विशेष गरी राजधानीका ठूला होटलहरुमा सञ्चालित क्यासिनोहरुमा नेपालीलाई अवैध रुपमा प्रवेश दिने गरेको समाचार बाहिरिए पनि संगठीत रुपमा १३/१३ जना नेपालीलाई प्रवेश दिनु आफैंमा पनि प्रहरी र प्रशासनलाई चुनौती दिएको छ । यस किसिमको कार्यलाई निरुत्साहित गर्न प्रहरीका साथै प्रशासनले समयमै कडा भन्दा कडा कदम चाल्नु आवश्यक छ ।
क्यासिनो प्रशासनले नेपालीहरुलाई प्रवेश दिने अनि प्रहरीले पक्राउ गर्दा उनीहरुमात्रै पक्रने र सञ्चालकले उन्मुक्ति पाउने प्रचलनको अन्त्य हुनुपर्दछ ।



कागजपत्र |
