
नुवाकोटमा घाँस काट्न गएकी एक महिलालाई लाग्यो गोली
नुवाकोट– नुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा घाँस काट्न गएकी एक महिलालाई गोली लागेको छ।
स्थानीय ४१ वर्षीय कान्छिमाया तामाङलाई बिहीबार अपरान्ह सिकारीले हानेको गोली छातीमा लागेको छ। उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए।
घटना पश्चात गम्भीर घाइते अबस्थामा तामाङलाई उद्धार गरेर उपचारका लागि काठमाडौँ लगिएको छ। हाल उनी धुमबाराहीस्थित ह्याम्स अस्पताल उपचाररत रहेकी छन्।
घटनास्थलको प्रारम्भिक अनुसन्धानका क्रममा स्थानीय १७–१८ जना मानिसहरु मिलेर बिहीबार दिउँसो बस्ती नजिकैको जङ्गलमा सिकार गर्न गएको र सोही समयमा उक्त घटना भएको पाइएको प्रहरी उपरीक्षक रेग्मीले बताए।
प्रहरीले घटनामा प्रयोग भएको दुई थान भरुवा बन्दुक र मृगको मासु बरामद गरेको छ।



कागजपत्र |
