आशिका तामाङको निर्देशनविरुद्ध धादिङका १३ पालिका एकजुट


धादिङ – जिल्लाका १३ वटै स्थानीय तहले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको निर्देशन नमान्ने भन्दै खुलेआम चुनौती दिएका छन्। नीलकण्ठ नगरपालिका का प्रमुख भीमप्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको बैठकले यस्तो कडा निर्णय लिएको हो।

बैठकले संविधान र कानुनविपरीत आउने कुनै पनि निर्देशन अस्वीकार गर्ने र प्रशासनमार्फत स्थानीय सरकारमाथि हस्तक्षेप भए कडा प्रतिवाद गर्ने निष्कर्ष निकालेको छ।

यो निर्णय विशेषगरी धादिङ–१ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले दिएको निर्देशनलाई लक्षित गर्दै आएको हो। तामाङले बेनीघाट रोराङ गाउँपालिका–९ मा त्रिशूली नदीबाट भइरहेको अवैध बालुवा तथा गिट्टी उत्खनन तत्काल रोक्न निर्देशन दिएकी थिइन्।

स्थानीय तहका जनप्रतिनिधिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सांसदबाट आएको यस्तो निर्देशनले स्थानीय सरकारको संवैधानिक अधिकार कुण्ठित गर्ने प्रयास भएको बताएका छन्। उनीहरूले प्रशासनमार्फत स्थानीय तहलाई नियन्त्रण गर्न खोजिएको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

‘संविधानले दिएको अधिकार क्षेत्रमै हस्तक्षेप गर्न खोजिएको छ, यस्तो हस्तक्षेप स्वीकार्य हुँदैन,’ विज्ञप्तिमा उल्लेख छ।

स्थानीय सरकार र संघीय प्रतिनिधिबीचको यो टकरावले अब राजनीतिक तनाव थप बढ्ने संकेत देखिएको छ।
651055848_2520314135070718_9076775626595191717_n

प्रतिक्रिया