रविको मुद्दा आज पनि हेर्दाहेर्दैमा


काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको कसुर फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको रिट मंगलबार पनि हेर्दाहेर्दैमा गएको छ ।

न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा लगातार ३ दिन सुनुवाइपछि पनि रिटलाई हेर्दाहेर्दैमा राखिएको हो ।

रिटमाथिको अर्को सुनुवाइ चैत ५ गते बिहीबार हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले लोकान्तरलाई जानकारी दिए ।

लामिछानेमाथि बढी अभियोग लागेको भन्दै सहकारी ठगीको मुद्दा यथावत राखी बाँकी दुई अभियोग नलाग्ने भनी महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते अभियोगपत्र संशोधन गरेकी थिइन् ।

सो संशोधनविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता आभास रेग्मी र अभियन्ता युवराज सफलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यो रिटमा आइतबारदेखि निरन्तर सुनुवाइ हुँदै आएको छ ।

प्रतिक्रिया