वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी


काभ्रेपलाञ्चोक-  पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको स्थायी पुनर्निर्माण कार्य तीव्र रूपमा अघि बढाइएको छ।

नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई संघीय राजधानी काठमाडौँसँग जोड्ने छोटो मार्गका रूपमा रहेको उक्त राजमार्गका क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट स्थायी पुनर्निर्माण कार्य सुरु गरिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

राजमार्गका जोखिमयुक्त स्थानमा आउँदो वर्षाअघि नै पूर्वाधार निर्माण सक्ने र राजमार्गबाटै यातायात सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्रता दिइएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए।

उनका अनुसार हाल भइरहेको कामको प्रगति हेर्दा दुई वर्षभित्र सडक पुनर्निर्माण सम्पन्न हुने अपेक्षा गरिएको छ। काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेको तीन सडकखण्डमा हालसम्म करिब २५ प्रतिशत काम सम्पन्न भएको छ।

विशेषगरी २०८१ असोजमा आएको बाढीपहिरो र त्यसपछि वर्षामा थप क्षति पुगेपछि गत मङ्सिरदेखि प्रक्रिया पूरा गरेर स्थायी पुनर्निर्माण सुरु गरिएको हो। क्षतिग्रस्त चार खण्डमध्ये बाँकी एक खण्ड बर्खेखोलादेखि पिप्लेसम्म तीन दशमलव दुई किलोमिटर सडक जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले पुनर्निर्माण गर्ने तयारी छ। सो सडक निर्माणका लागि यसै महिनाभित्र ठेक्का सम्झौता हुने जनाइएको छ।

बाढीले क्षति पुर्‍याएका विभिन्न स्थानमा ‘आरसिसी’ पर्खाल निर्माण भइरहेको छ। चौकीडाँडामा खोलाबाट प्लम्प पर्खाल लगाउने काम भइरहेको छ भने चारसयबेँसी र भकुण्डेबेँसीमा पनि आरसिसी पर्खाल निर्माण सुरु गरिएको छ। साथै डालाबेँसी, मङ्गलटार खण्ड र चारसयबेँसीदेखि नार्के खण्डसम्म सडक चौडा बनाउने कामसमेत अघि बढाइएको छ।

गत वर्ष र यस वर्षको बाढीले ‘वासआउट’ भएका स्थानमा बाढीबाट क्षति नहुने संरचना निर्माण गर्नेगरी नयाँ डिजाइन तयार गरिएको छ। काभ्रेपलाञ्चोक र सिन्धुलीका क्षतिग्रस्त सडकखण्ड दुई वर्षभित्र पुनर्निर्माण गर्ने लक्ष्य राखिएको छ।

कार्यालयका अनुसार क्षतिग्रस्त राजमार्गको पुनर्निर्माण तीन खण्डमा एकैसाथ भइरहेको छ। यस वर्ष संरचना निर्माण, सडक चौडा बनाउनेलगायत काम सम्पन्न गर्ने र आगामी वर्ष बाँकी स्थानमा संरचना निर्माण तथा कालोपत्र गर्ने योजना छ। बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पुर्‍याएको थियो।

पुनर्निर्माणसँगै राजमार्गलाई स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गर्ने योजना बनाइएको छ। सडकखण्डमा रहेका पुलसँगै थप पुल निर्माण गरी दुई लेनको बनाइनेछ। पाँचवटा पुललाई पनि दुई लेनमा रूपान्तरण गर्ने योजना छ।

डालाबेँसीदेखि चारसयबेँसीसम्म आठ दशमलव पाँच किलोमिटर सडक पुनर्निर्माणका लागि खानी–एवन–कमलजीत जेभीले एक अर्ब ४२ करोड ३७ लाख रुपैयाँ (भ्याटसहित) मा ठेक्का पाएको छ।

चारसयबेँसीदेखि भकुण्डेबेँसीसम्म ११ दशमलव ०८ किलोमिटर सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई एक अर्ब ३३ करोड ५३ लाख रुपैयाँमा ठेक्का दिइएको छ। नेपालथोकदेखि बर्खेखोलासम्म चार दशमलव ९० किलोमिटर सडक पुनर्निर्माणका लागि खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ६१ करोड रुपैयाँ (भ्याटसहित) मा ठेक्का सम्झौता गरिएको छ।

क्षतिग्रस्त कुल २९ दशमलव पाँच किलोमिटर सडकखण्डमध्ये बर्खेखोलादेखि पिप्लेसम्म तीन दशमलव दुई किलोमिटर सडक निर्माणका लागि जाइकाले दुई अर्ब ६३ करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने समझदारी भइसकेको छ।

क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि सरकारले आठ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिएको छ। जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डका लागि सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डका लागि एक अर्ब रुपैयाँ छुट्याइएको छ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/०५४ मा बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किलोमिटर) निर्माण सुरु भएको थियो। विभिन्न खण्डमा निर्माण सम्पन्न भएपछि विसं २०७२ असार १८ गते जापान सरकारले उक्त राजमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।

यो राजमार्ग काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा महत्वपूर्ण मानिन्छ।

प्रतिक्रिया