
ज्यान गुमाउने ७ जनाकै सनाखत, सबै एउटै गाउँका
गोरखा – मनकामना दर्शन गरेर फर्किंदै गरेका भारतीय तीर्थयात्री सवार माइक्रोबस गोरखामा दुर्घटना हुँदा मृत्यु भएका सबैको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार दुर्घटनामा ज्यान गुमाउने सातै जना भारतीय नागरिक हुन् ।
गोरखाको सहिद लखन गाउँपालिका–३ कान्टारमा शनिबार साँझ करिब साढे ७ बजेतिर बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबस सडकबाट झण्डै दुई सय मिटर तल खस्दा घटनास्थलमै सात जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक राजन लम्सालका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूमा ५८ वर्षीय मुतु कुमार, ५८ वर्षीय अनामलिक, ५९ वर्षीया मिनाक्षी, ५३ वर्षीया सिवगामी, ५७ वर्षीय बिजायल, ५८ वर्षीया मिना र ६० वर्षीया तमिलारशी रहेका छन् । उनीहरू सबै एउटै गाउँका रहेको खुलेको छ ।
प्रहरीका अनुसार माइक्रोबसमा चालक र सहचालकसहित १६ जना सवार थिए। दुर्घटनामा नौ जना गम्भीर घाइते भएका छन्। घाइतेमध्ये चालक र सहचालक नेपाली भए पनि अन्य सबै यात्रु भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ।
मनकामना मन्दिरमा दर्शन गरेर फर्किंदै गरेका तीर्थयात्री सवार माइक्रोबस आबुखैरेनीतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।
दुर्घटनापछि घाइतेहरूलाई स्थानीयको सहयोगमा उद्धार गरी सुरुमा आबुखैरेनी अस्पताल पुर्याइएको थियो। त्यहाँ सामान्य उपचारपछि सबैलाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ज्यान गुमाएका सात जनाको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल गोरखा पठाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



कागजपत्र |
