
प्रदेशसभा सदस्य प्रकाश देउवा ६ महिनादेखि अमेरिकामा
कैलाली- सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्वमन्त्री प्रकाशबहादुर देउवा झण्डै सात महिनादेखि प्रदेशसभा बैठकमा अनुपस्थित छन्। लामो समयदेखि प्रदेशसभा सचिवालयको सम्पर्कमा समेत नरहेका उनी अमेरिका पुगेको बताइए पनि औपचारिक जानकारी भने दिएका छैनन्।
देउवा गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलन पछि नेपालबाट बाहिरिएको बताइन्छ। देउवानिकट नेपाली कांग्रेस कैलालीका नेताहरूका अनुसार आन्दोलन भएको करिब चार दिनपछि उनी अमेरिका गएका थिए।
देउवानिकट एक नेताले भने, “राष्ट्रियसभा सदस्य निर्वाचन (११ माघ) अघि नै नेपाल फर्किन्छु भन्नुभएको थियो। तर अहिलेसम्म फर्किनुभएको छैन। अब एक साताभित्र आउने जानकारी दिनुभएको छ।”
देउवा झण्डै सात महिनादेखि प्रदेशसभा बैठकमा उपस्थित नभए पनि उनको पद भने यथावत् छ। सुदूरपश्चिम प्रदेशसभा नियमावली २०८० को धारा १९३ अनुसार कुनै सदस्य लगातार १० बैठकमा बिनासूचना अनुपस्थित भए पद रिक्त हुनसक्ने व्यवस्था छ। तर प्रदेशसभा सचिवालयका अनुसार पछिल्लो सात महिनामा जम्मा सात वटा मात्रै बैठक बसेकाले देउवाको पद स्वतः रिक्त हुने अवस्था बनेको छैन।
यद्यपि, लामो समय सम्पर्कमा नरहेको भन्दै प्रदेशसभा सचिवालयले उनको तलब–भत्ता रोक्का गरेको छ। सचिवालयका एक कर्मचारीका अनुसार देउवा अमेरिका रहेको जानकारी आए पनि उनले सभामुखलाई औपचारिक रूपमा कुनै जानकारी गराएका छैनन्।
राजनीतिक रूपमा पनि देउवा केही समययता चर्चामा छन्। उनी नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका भतिजा हुन्। २०७९ को प्रदेशसभा निर्वाचन जितेपछि उनी सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने आकांक्षामा थिए। तर दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बनेपछि देउवा भौतिक पूर्वाधार विकासमन्त्रीमा सीमित भए।
पछि केन्द्रमा एमाले–कांग्रेसको गठबन्धन बनेपछि देउवा दल नेता बनेर मुख्यमन्त्री बन्ने चर्चा पुनः चर्किएको थियो। तर संघीय सरकारमा उनकी काकी आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि कांग्रेसभित्रै दल नेता परिवर्तनको प्रक्रिया अघि बढ्न सकेन भन्ने चर्चा थियो।
मुख्यमन्त्री शाहको पहिलो कार्यकालमा देउवाको सम्बन्ध सहज मानिए पनि दोस्रो कार्यकालमा भने दुवैबीच दूरी बढेको बताइन्छ। देउवाले मुख्यमन्त्री शाहको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै आएका थिए भने शाहले पनि आफ्नै पार्टीभित्रबाट असहयोग भइरहेको सार्वजनिक रूपमा टिप्पणी गर्दै आएका थिए।
यसबीच देउवाको आफ्नै काकाकाकीसँग पनि सम्बन्ध बिग्रिएको चर्चा सुदूरपश्चिम राजनीतिक वृत्तमा चलिरहेको छ। लामो समय विदेशमा रहँदा प्रदेशसभा सदस्य नै सम्पर्कविहीन जस्तै बनेपछि अहिले उनको भूमिकामाथि पनि प्रश्न उठ्न थालेको छ।



कागजपत्र |
