
इनिशाका बुबा दुबईबाट फर्किए, न्याय नपाएसम्म शव नबुझ्ने
सुर्खेत- बलात्कारपछि हत्या भएकी १६ वर्षीया बालिका इनिशा विकका बुबा इन्द्रबहादुर विक दुबईबाट घर फर्किएका छन्। रोजगारीका सिलसिलामा दुबईमा रहेका उनी छोरीको हत्या भएको खबर पाएपछि बुधबार राति नै नेपाल आइपुगेका हुन्।
घर आइपुगेपछि उनले घटनाबारे गम्भीर आपत्ति जनाउँदै छोरीको योजनाबद्ध रूपमा हत्या गरिएको दाबी गरेका छन्। न्याय नपाएसम्म छोरीको शव नबुझ्ने अडान उनले व्यक्त गरेका छन्।
घटनास्थल पुगेका इन्द्रबहादुरले भने, “पार्कबाट घना जंगलतिर लगेर विभिन्न सामान देखाएर फकाई मेरो छोरीको हत्या गरिएको देखिन्छ। मेरो छोरीले न्याय नपाएसम्म म शव बुझ्दिनँ।”
फागुन २३ गते वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा इनिशा अचेत अवस्थामा फेला परेकी थिइन्। प्रहरीले उनलाई कर्णाली प्रदेश अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। अस्पतालको पोस्टमार्टम रिपोर्टअनुसार अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको उल्लेख छ।
घटनास्थलबाट पक्राउ परेका १६ वर्षीय एक बालकले इनिशासँग शारीरिक सम्बन्ध राखेको र त्यसपछि रक्तस्राव भई उनी बेहोस भएको बयान दिएको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि प्रहरीले अन्य तीन बालकलाई पनि नियन्त्रणमा लिएर सूक्ष्म अनुसन्धान गरिरहेको छ।
पीडित परिवारले चार जनाको सामूहिक बलात्कारपछि हत्या गरिएको आरोप लगाउँदै आन्दोलन गरेपछि घटनाको थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि खटाइएको छ।



कागजपत्र |
