घाइते भएको हल्लाबीच मोजताबा खामेनी ‘सुरक्षित र स्वस्थ’ रहेको दाबी


काठमाडौं – इरानका नयाँ सर्वोच्च नेता मोजताबा खामेनी युद्धका क्रममा घाइते भएको भन्ने खबरहरू फैलिरहेका बेला इरानी राष्ट्रपतिको छोराले भने उनी सुरक्षित र स्वस्थ रहेको दाबी गरेका छन्। इजरायल र संयुक्त राज्य अमेरिकासँगको जारी युद्धको पृष्ठभूमिमा यस्तो दाबी सार्वजनिक गरिएको हो।

इरानी राष्ट्रपतिको छोरा तथा सरकारी सल्लाहकार युसेफ पेजेस्कियानले बुधबार आफ्नो टेलिग्राम च्यानलमार्फत मोजताबा खामेनीको अवस्थाबारे टिप्पणी गर्दै उनी घाइते भएको खबर आफूले पनि सुनेको तर त्यसको आधिकारिक पुष्टि नभएको बताएका छन्।

उनले आफू सम्पर्कमा रहेका केही व्यक्तिहरूसँग सोधपुछ गर्दा खामेनी सुरक्षित रहेको जानकारी पाएको बताएका छन्। “मैले मोजताबा खामेनी घाइते भएको खबर सुनेको थिएँ। त्यसपछि मैले सम्पर्क भएका केही साथीहरूलाई सोधेको छु। उनीहरूले भगवानको कृपाले उहाँ सुरक्षित र स्वस्थ हुनुहुन्छ भन्ने बताएका छन्,” पेजेस्कियानले सामाजिक सञ्जालमा लेखेका छन्।

यसअघि इरानको सरकारी टेलिभिजनले खामेनीलाई ‘रमजान युद्धका घाइते पूर्व सैनिक’ भनेर उल्लेख गरेको थियो। तर उनी कहिले र कसरी घाइते भएका हुन् भन्नेबारे स्पष्ट विवरण भने सार्वजनिक गरिएको थिएन।

मोजताबा खामेनी इस्लामिक गणतन्त्र इरानका लामो समयसम्म सर्वोच्च नेता रहेका आयातोल्ला अली खामेनीका छोरा तथा उनका उत्तराधिकारी हुन्।

आयातोल्ला अली खामेनीको फेब्रुअरी २८ मा इरानमाथि गरिएको अमेरिका–इजरायल संयुक्त आक्रमणमा मृत्यु भएपछि मोजताबालाई नयाँ सर्वोच्च नेताका रूपमा अघि सारिएको हो। उक्त घटनापछि मध्यपूर्व क्षेत्रमा युद्धको अवस्था झनै चर्किएको बताइन्छ।

५६ वर्षीय मोजताबा खामेनी सामान्यतः सार्वजनिक जीवनमा कम देखिने व्यक्तित्वका रूपमा चिनिन्छन्। उनी सार्वजनिक कार्यक्रममा विरलै देखिने र आधिकारिक कार्यक्रममा पनि कमै बोल्ने गरेका छन्।

आइतबार सर्वोच्च नेता घोषणा गरिएपछि पनि उनले राष्ट्रलाई औपचारिक सम्बोधन गरेका छैनन्। त्यस्तै हालसम्म उनका तर्फबाट कुनै लिखित वक्तव्यसमेत सार्वजनिक भएको छैन, जसका कारण उनको अवस्थाबारे विभिन्न अड्कलबाजी फैलिन मद्दत पुगेको बताइएको छ।

यसैबीच अमेरिकी पत्रिका न्युयोर्क टाइम्स ले बुधबार प्रकाशित गरेको एक रिपोर्टमा तीन जना नाम नखुलाइएका इरानी अधिकारीहरूलाई उद्धृत गर्दै मोजताबा खामेनी घाइते भएको दाबी गरेको थियो।

उक्त रिपोर्टअनुसार उनको खुट्टामा चोट लागेको भए पनि उनी सचेत अवस्थामा रहेका र सीमित सञ्चारको पहुँचसहित अत्यन्त सुरक्षित स्थानमा बसिरहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया