राष्ट्रियसभामा दलहरूको हैसियत बदलियो, कांग्रेस सबैभन्दा ठूलो


काठमाडौं– राष्ट्रियसभामा नयाँ निर्वाचनपछि दलहरूको हैसियतमा ठूलो परिवर्तन आएको छ। गत माघ ११ गते सम्पन्न राष्ट्रियसभाका एकतिहाइ सदस्य निर्वाचनमा विजयी १८ सांसदले फागुन २५ गते पद तथा गोपनीयताको शपथ लिएका छन्। यससँगै उनीहरूको ६ वर्षे कार्यकाल सुरु भएको छ र राष्ट्रियसभामा दलहरूको सङ्ख्यात्मक स्थिति पुनः निर्धारित भएको छ।

राष्ट्रियसभाका १९ सांसदको ६ वर्षे कार्यकाल फागुन २० गते सकिएको थियो। यसमा १८ जना निर्वाचित सदस्य थिए भने १ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित थिए।

फागुन २० सम्मको स्थिति अनुसार, एमालेका ८, तत्कालीन नेकपा माओवादी केन्द्रका ७, जनता समाजवादी पार्टीका १, तत्कालीन नेकपा एकीकृत समाजवादी पार्टीका १ र तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीका १ सदस्यको कार्यकाल सकिएको थियो।

हाल राष्ट्रियसभामा ५७ जना सदस्य कार्यरत छन्। सरकारले सिफारिस गर्ने एक सदस्यको पद अहिले खाली छ भने कांग्रेसका बलदेव बोहोरा (सुदूरपश्चिम) को निधनपछि खाली भएको सिटमा निर्वाचन भएको छैन। बोहोराकाे पुस ३० मा निधन भएकाे थियाे। संघीय संसद् सचिवालयका सहसचिव एकराम गिरीका अनुसार, मनोनित र निधन भएका सदस्यको कारण हाल राष्ट्रियसभामा ५७ सदस्य मात्रै रहेका छन्।

राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित दुई जना छन् – नारायणप्रसाद दाहाल र डा. अञ्जान शाक्य। दाहाल अहिले राष्ट्रियसभाका अध्यक्ष पदमा कार्यरत छन्।

फागुन २० सम्म, तत्कालीन नेकपा माओवादी केन्द्र अहिलेको नयाँ नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर बनेको) राष्ट्रियसभामा सबैभन्दा ठूलो पार्टी थियो। तर नयाँ निर्वाचनपछि पार्टीका ८ सांसदको कार्यकाल सकिनुले उनीहरूको स्थिति दोस्रोमा झरेको छ।

नेपाली कांग्रेस पुराना १५ सदस्य र नयाँ निर्वाचित ९ सांसदसहित अब राष्ट्रियसभामा सबैभन्दा ठूलो पार्टी बनेको छ। एमाले बहालवाला २ र नयाँ निर्वाचित ८ सांसदसहित तेस्रो ठूलो पार्टी बनेको छ। जनता समाजवादी पार्टी ३ सिट र राष्ट्रिय जनमोर्चा १ सिटसहित क्रमशः चौथो र पाँचौं दल बनेका छन्।

प्रतिक्रिया