ग्यासको कृत्रिम अभाव सृजना गरे कारबाही हुने चेतावनी


कपिलवस्तु – खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सृजना गरी कालोबजारी भइरहेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले व्यापारीहरूमाथि कारबाही गर्ने चेतावनी दिएको छ।

बजारमा सामान्यतया प्रतिसिलिन्डर १ हजार ९२० रुपैयाँ पर्ने ग्यासलाई केही डिलर र व्यापारीहरूले लुकाएर ३ हजारदेखि ३ हजार ५०० रुपैयाँसम्म बेचिरहेको जनगुनासो प्रशासनलाई प्राप्त भएको छ। उपभोक्ताले सहज रूपमा ग्यास नपाएपछि प्रशासनले यस विषयमा ध्यान दिएको हो।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले मंगलबार जारी गरेको सार्वजनिक सूचनामा कृत्रिम अभाव सृजना गर्ने व्यापारीलाई सचेत गराइएको छ। सूचनामा उल्लेख छ कि दैनिक प्रयोगका अत्यावश्यक वस्तु लुकाउने, भण्डारण गर्ने र बढी मूल्यमा बिक्री गर्ने कार्य अमानवीय र कानुनविपरीत रहेको छ।

प्रशासनले जिल्लाका उद्योगी, व्यवसायी तथा डिलरहरूलाई ग्यासको भण्डारण, आपूर्ति र बिक्री–वितरण सहज बनाउन जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिएको छ। निर्देश पालना नगरेमा ‘कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२’ र अन्य प्रचलित कानुनबमोजिम कडा कारबाही हुने चेतावनी दिइएको छ।

प्रतिक्रिया