दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल बनाउने हर्क साम्पाङको घोषणा


काठमाडौं –  नवनिर्वाचित सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दार्चुलामा तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले दुर्गम भौगोलिक क्षेत्रमा निर्माण गरिने उक्त पुलका लागि देशभरका श्रमदाताहरूलाई तयार रहन आह्वान गरेका छन्।

साम्पाङका अनुसार पुल निर्माण हुने स्थानको भौगोलिक अवस्था तथा अन्य प्राविधिक जानकारी संकलन गर्न अग्रिम टोली त्यस क्षेत्रमा पठाइसकिएको छ। टोलीले वास्तविक अवस्था बुझेर जानकारी दिएपछि आफू पनि निर्माण स्थलमा पुग्ने उनले बताएका छन्।

मोटर बाटो नपुगेको दुर्गम क्षेत्र भएकाले त्यहाँ डोजर, क्रसरजस्ता भारी मेसिनरी उपकरण लैजान सम्भव नभएको साम्पाङले बताएका छन्। साथै, उक्त क्षेत्रमा बिजुलीको सुविधा पनि नभएकाले ड्रिल मेसिन प्रयोग गर्न नसकिने र जेनेरेटर बोकेर लैजान पनि कठिन हुने उनको भनाइ छ।

त्यसैले श्रमदानमा जानेहरूले घन, मार्तोल, बेल्चा, गैँती र झम्पलजस्ता औजार प्रयोग गरेर ढुङ्गा फुटाउनेदेखि बाटो खन्नेसम्मका काम हातैले गर्नुपर्ने उनले उल्लेख गरेका छन्। गिटी कुट्दा उछिट्टिन सक्ने भएकाले सुरक्षाका लागि पुराना टायर वा अन्य सामग्री प्रयोग गरेर छेक्ने व्यवस्था गर्नुपर्ने उनले सुझाव दिएका छन्।

साम्पाङका अनुसार पुल निर्माण कार्य सम्पन्न गर्न करिब १५ देखि २० दिनसम्म लाग्न सक्छ। श्रमदानमा सहभागीहरूलाई रिले प्रणालीमा काम गर्नुपर्ने भएकाले ठूलो संख्यामा जनशक्ति आवश्यक पर्ने उनले बताएका छन्।

दुर्गम क्षेत्र भएकाले खानपिनको सहज व्यवस्था नहुने हुँदा श्रमदानमा जानेहरूले मकै, चिउरा, चाउचाउजस्ता सुक्खा खाद्य सामग्री आफैं बोकेर जानुपर्ने उनले सुझाएका छन्।

उनका अनुसार झोलुङ्गे पुल निर्माणको सबैभन्दा चुनौतीपूर्ण काम पुलका भारी लट्ठा तान्ने प्रक्रिया हो। हेलिकप्टरबाट लट्ठा ढुवानी सम्भव नभएकाले विगतमा चतराबाट खोटाङ र भोजपुरतिर पुलको लट्ठा तानेझैँ अक्करे भीरमा ३५–४० जना मानिसले काँधमा बोकेर लट्ठा पुर्‍याउनुपर्ने अवस्था आउने उनले बताएका छन्।

यस अभियानलाई सफल बनाउन आर्थिक सहयोगको पनि आवश्यकता पर्ने उल्लेख गर्दै उनले सहयोगी दाताहरूलाई न्यूनतम १० रुपैयाँदेखि माथि आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया