
एमालेले बहुमत ल्याउँछ, प्रधानमन्त्री बन्छु : ओली
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमालेले बहुमतको सरकार बनाउने दाबी गरेका छन्।
भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेपछि ओली सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो दाबी गरेका हुन्।
ओलीले भने, “एमालेले सकभर बहुमत ल्याउँछ। यदि बहुमत नआए पनि सबैभन्दा ठूलो दलको रूपमा उदय हुनेछ।” उनले एमालेको नेतृत्वमा सरकार बन्ने कुरामा आफू पूर्ण रूपले विश्वस्त रहेको प्रष्ट पारे।
भविष्यका प्रधानमन्त्री को हुने भन्ने प्रश्नमा ओलीले आफू नै प्रधानमन्त्री बन्ने दाबी गरेका छन्। उनले भने, “मलाई मेरो पार्टीले प्रधानमन्त्री बन्न भनेको छ। मेरो पार्टीले भनेपछि देशले बनाउँछ, यसमा कुनै शंका छैन।”
साथै अध्यक्ष ओलीले देशमा नयाँ र पुराना दलको बहसले देशको हित विपरीत असर गरिरहेको र योगदान नभएका तत्त्वहरूले घृणा र प्रतिशोधको राजनीति गरिरहेको टिप्पणी पनि गरेका छन्।



कागजपत्र |
