चुनाव नहुने भविष्यवाणी गरेका ज्योतिष रुद्रनाथ अधिकारी हाजिरी जमानीमा रिहा


काठमाडौं – चुनाव नहुने भन्ने भविष्यवाणी गरेकै आधारमा पक्राउ परेका ज्योतिष रुद्रनाथ अधिकारी हिरासतमुक्त भएका छन्। उनलाई हाजिरी जमानीमा छोडिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अधिकारीलाई सोमबार साँझ चन्द्रागिरी क्षेत्रबाट पक्राउ गरेको थियो। पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको थियो। तर, सोधपुछपछि हाजिरी जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।

प्रवक्ता भट्टराईका अनुसार अधिकारीले गरेको भविष्यवाणीका विषयमा प्रहरीले बयान लिएको थियो। बयानका क्रममा अधिकारीले ज्योतिषीहरूले भविष्यवाणी गर्नु कुनै नौलो वा अस्वाभाविक कुरा नभएको बताएका छन्।

प्रहरीका अनुसार अधिकारीले चुनाव हुन नसक्ने र भए पनि अनिष्ट हुन सक्ने दाबी गरेका थिए। सोही भविष्यवाणीका आधारमा उनलाई पक्राउ गरिएको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध र आलोचना भएको थियो।

प्रतिक्रिया